बागलुङ — चौबीसे राजाको पालामा गलकोट मल्ल राजाहरूको राज्य थियो । त्यसको चिनो गलकोटमा अझैसम्म मल्ल दरबार छ ।
बागलुङको गलकोटस्थित उदाउँदो हटिया बजार र गलकोटको प्रवेशस्थल घोडाबाँधेको दृश्य । तस्बिर : प्रकाश/कान्तिपुर
वीपी कोइरालाका पालामा तत्कालीन सांसद भरतबम मल्लले यहाँ ‘ब्लक डेभलपमेन्ट कार्यालय’ स्थापना गराएका थिए । फलस्वरूप राजधानीको विरासत उक्त कार्यालयले थामेको थियो ।

पञ्चायतकालमा त्यो कार्यालयलाई सदरमुकाम बागलुङ बजारमा सारियो । हालका विकासे डिभिजन त्यस कार्यालयका विस्तारित स्वरूप हुन् । पुरानो राजधानीको विरासत फर्काउने अभियानमा नगरपालिका र स्थानीय ५० वर्षपछि पुन: जुटेका छन् । पर्यटकीय गन्तव्यको रूपमा गलकोटलाई चिनाउने उनीहरूको धोको छ ।

पुन:संरचनाअघि पनि गलकोट एउटा क्षेत्रको नाम थियो । नगरपालिका गठन गर्दा समेत उनीहरूले उक्त क्षेत्र टुक्रयाएनन् । अब गलकोटलाई समृद्धिको बाटोमा लैजान गलकोट गन्तव्यका लागि प्रमुख काम गरिने नगरप्रमुख भरत शर्मा गैरे बताउँछन् ।

सबै वडामा गौरवका योजना बनाएर कार्यान्वयन गरिरहेको यो नगरले हरेक वडामा पर्यटन पहिलो प्राथमिकता राखेको छ । होमस्टे सञ्चालन, ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको संरक्षण र विकासमा लगानी बढाउने नगरको योजना बनाएको गैरेले बताए ।

गलकोट क्षेत्रको अग्लो पहाड घुम्टेलाई नगरपालिकाले पहिचान र प्रतिष्ठाको मानेर पूर्वाधार विकासका योजना अघि बढाइएको छ । ११ हजार फिट अग्लो घुम्टे जान हरिचौरदेखि टेउवासम्म मोटरबाटो र त्यसमाथि व्यवस्थित पदमार्ग निर्माणको काम भइरहेको छ ।

घुम्टेको चुचुरोमा रहेका सिद्ध वराह र भैरव मन्दिर जीर्णाेद्धार गर्ने, उक्त स्थानमा सामुदायिक होटल, सत्तल र खानेपानीको व्यवस्थापन गर्न काम सुरु भएको हो । वैशाख पूर्णिमा र नयाँ वर्षको समय पारेर बर्सेनि मेला लाग्ने घुम्टेमा नियमित चढ्न जान मन पराउने पनि उत्तिकै छन् ।

केही वर्षअघि काठमाडांैदेखि घुम्टेसम्म साइकलयात्रा सञ्चालन भएपछि यसको महत्त्व बढेको छ । ‘आएका पाहुनाले सहजै बस्ने खाने सुविधा पाउनुपर्छ भनेर योजना बनायौं,’ नगरप्रमुख गैरेले भने, ‘विदेशी पाहुनाको पनि रोजाइमा पर्न थालिसकेकाले रेस्टुरेन्ट र होटल सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।’

लालीगुराँस फुलेर राताम्मे हुने घुम्टेमा हरेक वर्ष गुराँस महोत्सवसमेत आयोजना हुने गरेको छ ।
गलकोटको ऐतिहासिक स्थल दरबार हो । चौबीसे राज्यको दरबार कलात्मक शैलीको छ । संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।

पुरानो सदरमुकाम हरिचौर बजारमै भएकाले लगानी गर्न सके संरक्षण सजिलो हुने गलकोट–५ का वडाध्यक्ष नारायणध्वज मल्लले बताए । ‘सुरक्षाका लागि इलाका प्रहरीदेखि सबै विषयगत कार्यालय भएकाले विकास गर्न सकिन्छ,’ उनले भने, ‘इतिहास बुझ्न चाहनेलाई गलकोट आउनैपर्ने वातावरण बनाउन सकिन्छ ।’ कला संस्कृतिको खानी भएकाले पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ ।

गलकोटलाई साक्षी राखेर धेरै गीत–संगीत रचना भएका छन् । ‘वारि घुम्टे पारि गाजा,’ ‘घुम्टेकी छोरी,’ र ‘माछा मीठो असला दरम खोलाको’ लगायतका दर्जनांै गीतमा गलकोटका विभिन्न स्थानको वर्णन गरिएका छन् । पाण्डवखानी र रिघाको सती घाँटु, सोरठी, कौरा, सालैज्यो गीत तथा लोकदोहोरीका लागि गलकोट प्रसिद्ध छ ।

गलकोट नजिकै गाईघाट झरना छ । यहाँकै सहश्रधारामा साहसिक खेल क्यानोनिङ सुरु भएको छ । गलकोटकै टेउवा र धुस्तुङ, राम्चेढुंगा र भीमसेन ढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सम्भव रहेको परीक्षणबाट पुष्टि भइसकेको छ । उपत्यकाजस्तो गलकोटलाई दृश्यावलोकन गर्ने र साहसिक खेलका लागि दुवै खेलमा युवाहरूको आकर्षण बढेको छ ।

विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकले साहसिक खेल मन पराउन थालेका छन् । गलकोट मार्सल आर्ट, भलिबल र बास्केटबलको आकर्षक गन्तव्य हो । २२ औं राष्ट्रिय भलिबल प्रतियोगिता समेत गलकोट नगरपालिकाले सम्पन्न गरेको छ ।

सातै प्रदेश र विभागीय टिमका सयौं खेलाडी गलकोट आएर आकर्षक गन्तव्यको फोटो खिचेर गएको उपप्रमुख रेनुका काउचाले बताइन् । ‘काम गर्न धेरै बाँकी छ तर गलकोट जानुपर्छ भन्ने सन्देश दिन थालिसकेका छौं,’ उनले भनिन्, ‘पर्यटकसँग गर्ने मैत्रीपूर्ण व्यवहारबारे धेरैले तालिम पनि गरेका छन् ।’ यहाँ दर्जनौं पर्यटक होटलसमेत निर्माण भएर सञ्चालनमा आएका छन् ।

दरमखोलाको असला माछाले धेरैको मन जितेको छ । जापान, अस्ट्रेलिया र अमेरिका बस्ने नेपालीले दरमखोलाको माछा मगाउँछन् । ‘दरमखोलाकै असलाको सुकुटी पठाइदिनु भनेर धेरैले फोन गर्छन्,’ हटियाकी कौशिला घर्तीले भनिन्, ‘किलोको ४५ सय रुपैयाँमा असलाको सुकुटी पठाएकी छु ।’

दरमखोला, गौंदीखोला, ताराखोला र नरेठाँटी खोलामा चिसो पानी भएकाले पाइने असला माछा स्वादिला मानिन्छन् । गलकोट क्षेत्रमा उल्लेख्य लगानीमा किसानले पनि माछा पाल्न थालेका छन् ।
उच्च शिक्षाका लागि बाहिर जानै नपर्ने गरी यहाँ क्याम्पस खुलेका छन् ।

शिक्षा, मानविकी, विज्ञान र व्यवस्थापन विषयका स्नातक तहसम्म अध्यापन यही हुन्छ । जिल्लाका तीन नमूना विद्यालयमध्ये गलकोट मावि यहीं छ । अपरेसनसहितको स्वास्थ्य सेवा पाउने प्राथमिक स्वास्थ्य केन्द्र, निजी अस्पताल र पोलिक्लिनिकहरू स्थापना भएका छन् । जिल्लामै सबैभन्दा धेरै प्रसूति सेवा दिएर सफलता पाउने हटिया स्वास्थ्यचौकी हो । नियमित स्वास्थ्य परीक्षण गरेर सुत्केरी गराउनेलाई नगरपालिकाले ४ हजार ५ सय भत्ता दिने व्यवस्था समेत गरेको छ ।

नगर चक्रपथ निर्माणको काम सुरु भएको छ । यसअघि ट्रयाक खुलिसकेका सडक स्तरोन्नति गरेर चक्रपथको रूप दिन करोड लगानी गर्ने नगरपालिकाको योजना छ । नगरभित्रका मुख्य सडकहरू कालोपत्रे गर्न ५० लाख रुपैयाँको दरले दर्जन बढी योजनामा काम भइरहेको छ । प्रकाशित : पुस २०, २०७५ ०९:२७

copyit all text and ulr साभार:https://www.kantipurdaily.com/pradesh-4/2019/01/04/1546573339444058.html

    Comment Here!