डम्मर बुढा मगर, बागलुङ ।
‘मध्य पहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर’ को नारा दिएको बागलुङ नगरपालिकाले बजारको मुख्य सडकसँग जोडिएका गल्ली तथा नालीहरुलाईहरुलाई व्यवस्थित बनाउन सकेको छैन् । गल्ली तथा नाली व्यवस्थित बनाउन नसक्दा बजारबासीले नाक मुख छोपेर हिड्नु पर्ने बध्यता भएको छ ।

फोहोर र अत्यन्त दुर्गन्धका कारण मुखमा माक्स लगाएर हिड्न पनि कठिन भएको स्थानीयले बताए । नालीमै फोहोर पानीको ताल छ । तालमा मानिसहरुका दिशादेखि कुखुराका प्वाँख, हड्डी, प्लाष्टिकका फोहोर जथाभावि रुपमा फ्याँकिएको प्रष्टै देखिन्छ ।

बागलुङ बजार भित्रैका लालिगुराँसचोक र पिस प्यालेस होटल बिचको गल्ली, धौलागिरी मोर्डेन एकेडेमीदेखि पूरानो जिल्ला विकास समितिको चोकसम्म, प्रमुख जिल्ला अधिकारी बस्ने निवास अगाडिको भाग लगायतका विभिन्न गल्ली तथा नालीको अवस्था हेर्ने हो बिजोग छ । छोटो दुरीका कारण यी गल्ली प्रयोग गर्ने स्थानीयहरु दुर्गन्धले हायलकायल बन्ने गरेको थानेश्वर सुवेदीले बताए ।

सुवेदीले दीर्घकालिन समाधानको लागि प्राबिधिकसँग समन्वय गरी काम गर्नु पर्ने सुझाए । उनले लहरे पिपल, उपल्लाचौर हुँदै आउने नालीका साथै ढल निकासलाई व्यवस्थित गर्न सके बजार दुर्गन्धित नबन्ने उनको भनाई छ ।

नाली व्यवस्थपनको लागि बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ को लागि डेढ करोड रुपैयाँ विनियोजन गरेको नगर उप–प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । नाली अस्त व्यस्त हुँदा बजार नै दुर्गन्धित हुन नसक्ला भन्न सकिन्न । यसको व्यवस्थापनको लागि १/२ महिना मै काम थालनी गर्ने उप–प्रमुख खड्काको भनाई छ ।

नाली व्यवस्थपनको लागि अघिल्लो वर्ष ११ देखि १५ लाख रुपैयाँ विनियोजन भएको थियो तर काम भने खास्सै भएको पाइएन । बजार दुर्गन्धित हुन सक्ने भन्दै स्थानीयहरुले व्यवस्थापनको कामलाई छिटै शुरु गर्न आग्रह गरेका छन् ।
२०७५, ५ पुष बिहीबार १९:५० मा प्रकाशित
साभार : http://eparinews.com/?p=4193

    Comment Here!